फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको ९५ करोड २० लाख लगानी सुनिश्चित



काठमाडौँ, १८ जेठ । एनआईसी एशिया बैंक ले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने क्रममा रसुवा जिल्लाको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

बैंक र रसुवा हाइड्रोपावर लिमिटेड बीच रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

एक कार्यक्रमबीच भएको सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन् ।

आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब ३८.७४ गिगावाट आवर विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउने यस आयोजनाले दिगो ऊर्जा विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ । आयोजनाबाट स्वच्छ ऊर्जा उत्पादन वृद्धि भई मुलुकको आर्थिक विकास तथा वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशिया बैंकले पछिल्लो समय ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै आफ्नो लगानी पोर्टफोलियोलाई थप विविधिकरण गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार