सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण, भवन हस्तान्तरण
रुकुम पश्चिम, १८ जेठ । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
वि.सं. २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हसंबहादुर खड्कालाई हस्तान्तरण गरे ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट, उपाध्यक्ष कमला रोकापुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य तथा गुणस्तरीय शिक्षाप्रतिको साझा प्रतिबद्धताको प्रतीक भएको बताए ।
उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएकाले समयसापेक्ष, गुणस्तरीय र समावेशी शिक्षामा पहुँच विस्तार गर्न बैंकले योगदान दिएको बताए ।
बैंकका अनुसार सुलभ पहुँचयुक्त शौचालयसहित निर्माण गरिएको नयाँ भवनले विद्यार्थीहरूको सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बैंकले जनाएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार







