सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले माग्यो ५ दिन थप समय



काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ । प्रतिवेदन लेखन कार्य जारी रहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोमबार पत्राचार गरेको हो।

मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो । छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् ।

छानबिन पूरा भए पनि प्रतिवेदन लेखन कार्य बाँकी रहेको समितिका सदस्य अच्युतमणी नेउपानेले रातोपाटीलाई बताए । उनले भने, ‘गुरुङमाथिको छानबिन पूरा भएको छ, प्रतिवेदन लेखन कार्य बाँकी रहेकाले थप ५ दिन समय माग गरेका छौँ।’

समितिले यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो । समितिले सुधन गुरुङसँग बयान लिएको छ । गुरुङको बयान लिने काम सकिएको सदस्य नेउपानेले बताए ।

व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा उनको नाममा देखिएको सेयरबारे प्रश्न उठेपछि वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार