बैंकिङ कसुरसहित १४ मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ, २६ जेठ । बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी राजु मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार बैंकिङ कसुरका १२ र चेक अनादरका दुई गरी कुल १४ वटा मुद्दामा सजाय तोकिएको थियो।
बुढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय मिजारलाई अदालतले रु. २ करोड ५८ लाख ६२ हजार ७१६ बिगो, रु. ४३ लाख २३ हजार ५३४ दशमलव ८० जरिवाना, रु. १ लाख ७२ हजार ९४१ दशमलव ३९ क्षतिपूर्ति तथा ९० दिन कैद सजाय तोकेको थियो।
फरार रहेका मिजारलाई प्रहरीको विशेष टोलीले जेठ २५ गते काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















