समस्याग्रस्त सहकारीका थप २१६ साना बचतकर्ताले पाए रकम फिर्ता



काठमाडौँ २६ जेठ ।  सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था का साना बचतकर्तालाई बचत फिर्ता गरेको हो। समितिका अनुसार थप २१६ जना बचतकर्ताले आफ्नो बचत रकम प्राप्त गरेका छन्।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकमबाट बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ। पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका साथ भुक्तानी गरिएको र क्रमशः बचत रकमका आधारमा वर्गीकरण गरी अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिले जनाएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने व्यक्तिलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जना पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने समूहमा रहेका छन्।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार बचत फिर्ता गर्ने कार्य निरन्तर जारी रहेको समितिले जनाएको छ।

समितिका अनुसार हालसम्म एक हजार ३१३ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्