अत्यधिक गर्मीका कारण बाँकेका विभिन्न पालिकामा विद्यालय बन्द



नेपालगन्ज, २६ जेठ तातो हावा (लु) चलेर अत्यधिक गर्मी बढेपछि बाँकेका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन्। सो क्रममा नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिका ले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

कोहलपुर नगरपालिका ले यसअघि नै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। तातो हावा र अत्यधिक तापक्रमका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले जेठ २७ गतेदेखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापा ले नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मीका कारण बालबालिका प्रभावित भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको बताए।

उनका अनुसार गर्मीका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि एक सातासम्म विद्यालय बन्द गर्ने सूचना जारी गरिएको हो।

यस्तै, खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि सूचना जारी गर्दै जेठ २७ गतेदेखि ३१ गतेसम्म विद्यालयमा बिदा दिइएको जनाएको छ। शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्ल ले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि पाँच दिन बिदा दिइएको बताए।

यसअघि कोहलपुर नगरपालिकाले पनि मङ्गलबारदेखि लागू हुने गरी तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। स्थानीय तहहरूले मौसमको अवस्था हेरेर आवश्यक परे बिदाको अवधि थप गर्न सकिने बताएका छन्।

गर्मी निरन्तर बढिरहेकाले जिल्लाका अन्य पालिकाहरूले पनि विद्यालयमा बिदा दिने तयारी गरिरहेका छन्। यसअघि अभिभावकहरूले समेत बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी केही दिन विद्यालय बन्द गर्न माग गरेका थिए।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्