प्रतिनिधि सभा बैठक सुरु, परराष्ट्रमन्त्रीले जवाफ दिँदै



काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले यही १७ जेठको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु भएको छ।

गतिरोध अन्त्यका लागि सभामुख डीपी अर्यालले विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

त्यसअघि गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच करिब २ घण्टा बढी छलफल भएको थियो ।

छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए ।

तर,सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई जवाफ दिने प्रस्ताव राखेका थिए। तर, विपक्षी दल उक्त प्रस्तावमा सहमत भएका थिएनन्।

जसका कारण आज ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी २ सम्मका लागि सारिएको थियो। २ बजेको लागि सारिएको बैठक ३ः१५ बजे सुरु भएको हो

बैठकमा अहिले परराष्ट्रमन्त्री शिशिर खनाले जवाफ दिँदै छन्।

यसैगरी बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा आव २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्