ट्रेड युनियन खारेज विवाद: सर्वोच्चमा सुनुवाइ जेठ २९ मा सर्‍यो



काठमाडौँ, २७ जेठ ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतमा आज पूरा हुन नसकेपछि जेठ २९ गते ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको नेतृत्वमा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भए पनि समय नभ्याएपछि अर्को मिति तय गरिएको हो । यसअघि जेठ २० गते सुनुवाइ सुरु भई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गत वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वको संवैधानिक इजलासमा यो विषयमा रायबाझी आदेश भएको थियो । न्यायाधीशहरू मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँलले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका थिए । तर न्यायाधीशहरू विनोद शर्मा र शारङ्गा सुवेदीले अपुरणीय क्षति नपुग्ने तर्क गर्दै अन्तरिम आदेशमा असहमति जनाएका थिए ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी दाहालसहितले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अदालतमा आदेशको माग गरेका थिए । अदालतले दुवै पक्षलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिसकेको छ ।

अब जेठ २९ गते हुने सुनुवाइमा यस विवादको अर्को मोड खुल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्