प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन, बजेटमाथि छलफल सुरु



काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम १३ बमोजिम समितिमा सदस्यहरू मनोनयन गरिएको जानकारी दिए। समितिमा डा. अचुतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य सदस्य रहेका छन्।

सभामुख अर्यालले समितिका सदस्यहरूको नाम हेरफेरसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गरेको जानकारी दिए। उहाँले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजनसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाए।

सभामुख अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रियसभाबाट तोकिएको अवधिभित्र फिर्ता नआएको जानकारी दिए।

बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्ने समय नदिएको भन्दै प्रतिनिधिसभाको वेल घेराउ गरी नाराबाजी गरेका थिए। त्यसपछि सभामुख अर्यालले उनीहरूलाई बोल्न समय दिएका थिए।

श्रृम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद् संविधान र विधिअनुसार सञ्चालन भए मात्रै सुशासन कायम हुने बताए। उनले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विषयमा गम्भीर गल्ती गरेको दाबी गर्दै प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखसँग रुलिङको माग गरे। सीमा विवादबारे यथार्थ बुझ्न सेनालाई सीमाक्षेत्रमा पठाउनुपर्ने उनको भनाइ थियो।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सुरु भएको छ। छलफलमा उठेका विषयमा अर्थमन्त्री वाग्लेले आजै जवाफ दिने कार्यसूची रहेको छ।

यसैगरी, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभाबाट उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्