वीरगंजमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु
वीरगंज, २८ जेठ । “खेली मधेस, जिती मधेस” भन्ने नारासहित वीरगंजमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ ।
मधेस खेलकुद परिषद्को आयोजनामा वीरगंजस्थित सशस्त्र प्रहरी गण परिसरभित्र रहेको कबड्डी हलमा आयोजित प्रतियोगिताको उद्घाटन परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका छन् ।
प्रतियोगितामा सात प्रदेशका सात टोली तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका तीन विभागीय टोलीसहित १० टोलीका २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव गुप्ताले कबड्डी खेलको नेपालमा सुरुआत मधेसबाट भएको उल्लेख गर्दै खेलको विकास र प्रवर्द्धनका लागि कबड्डी हलसहित आवश्यक खेल पूर्वाधार निर्माणमा परिषद् सक्रिय रहेको बताएका छन् ।
कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, नेपाल पारा ओलम्पिक सुटिङ संघका राष्ट्रिय उपाध्यक्ष कमल अधिकारी, नेपाल गल्फ संघका केन्द्रीय सचिव डेबिट भण्डारी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका स्थानीय प्रमुखहरूको सहभागिता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल तथा समापन कार्यक्रम जेठ ३० गते हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















