नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता, ग्राहकलाई होटल तथा रेस्टुरेन्ट सेवामा २५ प्रतिशतसम्म छुट



काठमाडौँ, २९ जेठ । नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गत देशभर सञ्चालित २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमा उपलब्ध सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक दुर्गादत्त पन्तले हस्ताक्षर गर्नुभएको थियो ।

बैंकका अनुसार उक्त सहकार्यले ग्राहक तथा कर्मचारीलाई थप मूल्यवर्द्धित सेवा उपलब्ध गराउनुका साथै पर्यटन तथा आतिथ्य क्षेत्रसँगको सहकार्यलाई समेत विस्तार गर्ने अपेक्षा गरिएको छ ।

हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । आधुनिक बैंकिङ प्रविधि र गुणस्तरीय ग्राहक सेवामार्फत बैंकले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्