इप्पानको विधान संशोधन, सबै पदमा निर्वाचन हुने व्यवस्था
काठमाडौँ, ३० जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन गर्दै सबै पदमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ ।
इप्पानको वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको २०७८ सालको विधान संशोधन गर्दै सबै पदमा निर्वाचन गराउने व्यवस्था पारित गरेको हो । संशोधित विधानअनुसार अध्यक्ष पदका लागि उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
विधान संशोधनमार्फत उपाध्यक्षको संख्या पाँचबाट सात र सचिवको संख्या पनि पाँचबाट सात पुर्याइएको छ । साथै, पाँच जना स्थायी आमन्त्रित सदस्य मनोनयन गर्ने व्यवस्था समेत गरिएको छ ।
संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।
इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले संस्थालाई अझ समावेशी र लोकतान्त्रिक अभ्यासको थलोका रूपमा विकास गर्ने उद्देश्यले विधान संशोधन गरिएको बताए ।
पारित विधानअनुसार इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्न कुनै राजनीतिक दलमा आबद्ध हुन नपाइने व्यवस्था गरिएको छ । विगतमा कुनै दलमा आबद्ध रहेको भए त्याग गरेको प्रमाण पेस गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ ।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक २५ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा चयन भएका छन् । उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन् ।
संशोधित विधानअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी उपाध्यक्षको संख्या सात पुर्याइएको छ । यसैगरी, महासचिवमा टीएन आचार्य चयन भएका छन् ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार
















