नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप्यो



काठमाडौँ, ३० जेठ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हिमाली तथा विकट जिल्ला, जनसम्पर्क समिति र नयाँ सदस्यता वितरणका लागि समयसीमा थप गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार देशका अधिकांश क्षेत्रमा डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिकको काम भइरहेको छ । हालसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ । तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने बाँकीको विवरण वडा तहमा अद्यावधिकको प्रक्रियामा रहेको छ ।

असार ५ भित्र वडाबाट अनुमोदन गर्न निर्देशन

अनलाइनमार्फत प्रविष्ट भएका फारामहरू वडा तहबाट २०८३ असार ५ गतेभित्र अनुमोदन गरिसक्न समितिले निर्देशन दिएको छ । तोकिएको समयभित्र वडाले अनुमोदन नगरेमा केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्टरनेट पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्ला तथा अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङका लागि असार ७ गतेसम्म समय थपिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिका लागि असार १० गतेसम्म र अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरणका लागि असार २० गतेसम्मको समय तोकिएको छ ।

शुल्क नबुझाउनेले महाधिवेशनमा भाग लिन नपाउने

नयाँ तथा पुराना सदस्यहरूले विधानबमोजिम तोकिएको शुल्क नबुझाई विवरण प्रविष्ट गरेको भए यथाशीघ्र शुल्क बुझाउन सम्बन्धित तहका सभापतिहरूलाई निर्देशन दिइएको छ । तोकिएको शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ ।

विविध कारणले वडाबाट नवीकरण छुट भएका सदस्य तथा पुराना सदस्य भए पनि विवरण नयाँ सदस्यका रूपमा प्रविष्ट भएका व्यक्तिका हकमा असार २० गतेभित्र केन्द्रीय कार्यालयमा प्रमाणसहित आवेदन दिए डिजिटल प्रणालीमा नाम निरन्तरता दिइने निर्णय गरिएको छ ।

कांग्रेसले पार्टी विधानअनुसार ३५ वर्षमुनिका युवालाई क्रियाशील सदस्यता वितरण गर्न ‘युवा केन्द्रित अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । साथै विषयविज्ञ तथा हाल विदेशमा रहेका पुराना सदस्यहरूको अद्यावधिक कार्य पनि असार २० गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।

डिजिटल प्रणालीमा प्रविष्ट विवरणमा कुनै त्रुटि भए नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणसहित असार १ गतेदेखि असार मसान्तसम्म सच्याउन सकिने व्यवस्था गरिएको छ । यसका लागि कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै इमेल ठेगाना तोकेको जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्