नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा छुट
काठमाडौँ, १ असार। नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन्।
नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच भएको सम्झौताअनुसार बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालका विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि नेपाल बैंकका ग्राहक र कर्मचारीले इन्द्रप्रस्थ अपोलो अस्पतालबाट प्रदान गरिने उच्चस्तरीय स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्नेछन्। बैंकले ग्राहककेन्द्रित सेवा विस्तार गर्ने क्रममा यो सहकार्यले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाल बैंकले देशभरका २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार











