भूमिहीनलाई असार तेस्रो सातादेखि लालपुर्जा वितरण गरिने



काठमाडौँ, ३ असार । सरकारले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने भएको छ।

प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताइन्।

उनले भूमि प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने काम अघि बढिरहेको जानकारी दिँदै वास्तविक सुकुम्बासीको पहिचान कार्य अझै जारी रहेको बताइन्।

मन्त्री रावलले समस्याग्रस्त सहकारीको प्रभावकारी अनुगमन तथा नियमन चाँडै सुरु गरिने उल्लेख गर्दै बचतकर्ताको रकम फिर्ताका लागि राज्यकोषबाट कुनै रकम खर्च नगरिएको स्पष्ट पारिन्।

निजामती कर्मचारीको उमेर हद सम्बन्धी विषय संसद्को छलफलबाट अन्तिम टुङ्गो लाग्ने उनले बताइन्।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्