निजी क्षेत्रलाई लगानीमैत्री वातावरण दिने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
काठमाडौँ, ३ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारसम्बन्धी कार्यक्रममा उनले उत्पादन र लगानीमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए।
सम्पत्ति शुद्धीकरणका नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिइने स्पष्ट पार्दै उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने र राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारबाही गरिने बताए।
अर्थमन्त्री वाग्लेले शेयर बजारलाई थप व्यवस्थित र विश्वासिलो बनाउन काम भइरहेको तथा आर्थिक गतिविधि प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने जानकारी दिए। घरबहाल कर प्रभावकारी रूपमा कार्यान्वयन गरिने र कर नतिर्ने प्रवृत्ति अन्त्य गरिने उनको भनाइ थियो।
उनले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले पर्यटन र बजार गतिविधिमा सकारात्मक प्रभाव परेको दाबी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउन कूटनीतिक पहल भइरहेको बताए। घरजग्गा कारोबारलाई चलायमान बनाउन आवश्यक नीतिगत व्यवस्था अघि बढाइएको पनि उनले उल्लेख गरे।
कार्यक्रममा व्यवसायीहरूले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, कर सुधार तथा निजी क्षेत्रको मनोबल वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार











