औषधि आपूर्ति सुधारका लागि एक साताभित्र प्रक्रिया सुरु हुने



काठमाडौँ, ३ असार । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न तथा मूल्य समायोजनका लागि स्वचालित प्रणाली निर्माणको प्रक्रिया एक साताभित्र सुरु गरिने बताएकी छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले औषधि आपूर्तिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइन्।

उनले विगत एक दशकदेखि औषधिको अधिकतम खुद्रा मूल्य समायोजन नभएको तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण बजारमा औषधि अभाव देखिएको विषयमा मन्त्रालय गम्भीर रहेको बताइन्।

मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको जिम्मेवारी भएको उल्लेख गर्दै आधारभूत अस्पतालमा हाल विशेषज्ञ सेवा विस्तार सम्भव नभएको बताइन्। आधारभूत सेवा प्रभावकारी रूपमा सञ्चालन भएपछि क्रमशः अन्य सेवा विस्तार गरिने उनको भनाइ थियो।

उनले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको तथा बिमा व्यवस्थापन सुधारका लागि तत्कालीन र दीर्घकालीन उपायहरू अघि सारिएको बताइन्।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्