विश्वविद्यालय शिक्षालाई रोजगारमुखी बनाइने : मन्त्री पोखरेल
सुर्खेत, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए। त्यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले कर्णालीका जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउन विश्वविद्यालयले भूमिका खेल्नुपर्ने बताए।
मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयले अनुसन्धानमूलक शिक्षा, डिजिटल प्रविधि, खेलकुद र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए।
दीक्षित विद्यार्थीलाई बधाई दिँदै उनले शिक्षा व्यक्तिगत सफलताका साथै समाज र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गरे। युवापुस्ताले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामार्फत गरिबी, बेरोजगारी, स्वास्थ्य तथा जलवायु परिवर्तनजस्ता चुनौतीको समाधानमा योगदान दिन सक्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार











