लालपुर्जा वितरणदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा मन्त्रीहरूको जवाफ
काठमाडौँ, ३ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विभिन्न मन्त्रीहरूले सरकारले प्रेस स्वतन्त्रता, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा सुधार र भूमिहीन सुकुम्बासी व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। उनले देशभर दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न थप एक हजार ६०० टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकारसँग सहकार्य भइरहेको बताउँदै रोजगार नीति र वैदेशिक रोजगार ऐन परिमार्जनको काम अघि बढाइएको बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार तथा बन्द उद्योग पुनः सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको बताइन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि बजेटको अधिकांश हिस्सा साना किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी विनियोजन गरिएको बताइन्। उनले कृषि तथा पशुजन्य उत्पादनमा लगानी गर्ने कृषकलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सुरु गरिएको जानकारी दिइन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटनको लाभ तल्लो वर्गसम्म पुर्याउने लक्ष्यसहित बजेट ल्याइएको बताए। उनले देशभरका पदमार्ग जोड्ने योजना तथा सांस्कृतिक सम्पदाको संरक्षणमा बजेट विनियोजन गरिएको जानकारी दिए।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनका लागि स्वचालित प्रणाली विकास गरिने बताइन्। उनले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिन्।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गरिने जानकारी दिइन्। उनले समस्याग्रस्त सहकारीको प्रभावकारी अनुगमन तथा नियमन पनि चाँडै सुरु गरिने बताइन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको संरक्षण र सशक्तीकरणलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताइन्।
प्रतिनिधिसभाको अर्को बैठक असार ४ गते बिहान ११ बजे बस्नेछ। बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम सम्पन्न गरी विनियोजन विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार











