रुपेश र कृतिसराको अग्रता कायम



काठमाडौँ, ३ असार । ४६औँ चेस ओलम्पियाड तथा २६औँ राष्ट्रिय पुरुष र ११औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको सातौँ चरणसम्म रुपेश जैसवाल र कृतिसरा अधिकारी शीर्ष स्थानमा कायम रहेका छन्।

पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ जित र एक बराबरीसहित ६.५ अङ्क जोड्दै अग्रता बनाएका छन्। रिसोन थापा ५.५ अङ्कसहित दोस्रो स्थानमा छन् भने राजन सुवेदी र वर्तमान उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अङ्कसहित संयुक्त तेस्रो स्थानमा रहेका छन्।

महिलातर्फ कृतिसरा अधिकारी ५.५ अङ्कसहित शीर्ष स्थानमा छिन्। विनिता कपाली पाँच अङ्कसहित दोस्रो स्थानमा छिन् भने प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पूजा भण्डारी समान ४.५ अङ्कसहित संयुक्त तेस्रो स्थानमा रहेका छन्।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश र झापा जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता ११ चरणसम्म सञ्चालन हुने सङ्घका प्रवक्ता राजु ताम्राकारले बताए।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्