अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय चार दिन बन्द



वीरगञ्ज, १० असार । तराई–मधेशका जिल्लामा अत्यधिक गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकाले असार ११ गतेदेखि १४ गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गर्मीका कारण पठनपाठन प्रभावित भएपछि महानगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । महानगरपालिकाले आज सूचना जारी गर्दै बिहीबारदेखि आइतबारसम्म नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेको तथा पठनपाठनमा असहजता भएको भन्दै विद्यालय, अभिभावक र जनप्रतिनिधिबाट बिदाको माग आएपछि निर्णय गरिएको बताएका छन् ।

उनका अनुसार वर्षे बिदाबाट कट्टा हुने गरी असार ११ र १२ गते बिदा दिइएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले विद्यालय चार दिन बन्द रहनेछन् ।

महानगरपालिकाको सूचनाअनुसार नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय, कक्षा १२ सम्म अध्यापन हुने कलेज, मन्टेश्वरी तथा प्रारम्भिक बाल विकास केन्द्रहरू पनि बन्द रहनेछन् ।

विद्यालयहरू असार १५ गते सोमबारदेखि पुनः सञ्चालन हुने जनाइएको छ ।

पछिल्ला केही दिनदेखि बारा, पर्सा, रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्