सरकारलाई सुकुम्बासीको चेतावनी- विकल्पविना होल्डिङ सेन्टरबाट हटाए पुरानै ठाउँमा छाप्रो हाल्छौँ



काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने चेतावनी दिएका छन्।

काठमाडौंका विभिन्न खोला छेउका स्थानमा बसिरहेका सुकुम्वासी सरकारले गत वैशाख १२ गतेदेखि हटाउन सुरु गरेको थियो। त्यतिबेला सरकारले १५ दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो।

तर, दुई महिना बितिसक्दा स्थायी व्यवस्थापनका लागि पहल गर्नुको साटो जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरेर असार १२ गतेभित्र होल्डिङ सेन्टर छोड्न भनेको छ।

उनीहरूलाई २५ हजार रुपैयाँ लग्न र त्यसपछि आफै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख गरिएको छ।

सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि उनीहरू आक्रोशित बनेका हुन्।

बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा रहेका मानिसहरूलाई बैंक खाताको विवरणसमेत माग गरेको छ। सरकारले दिने भनेको २५ हजार रुपैयाँ भुक्तानीका लागि बैंक विवरण मागिएको हो।

सुकुम्बासीहरूले सरकारको यो शैलीमा असन्तुष्टि जनाउँदै कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेका छन्।

साथै, उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ नदेखाइ जबरजस्ती निकालिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

यस्ता छन् मागहरु

१. भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गरियोस्।

२. जबरजस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखी समस्या समाधान गरियोस्।

३. स्थायी व्यवस्थापन नहुन्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा-सुविधा दिइयोस् वा जाने सुरक्षित ठाउँ देखाइयोस्।

४. सरकारी नीति र कार्यक्रममा उल्लेख भएबमोजिम सुकुम्बासी तथा अव्यवस्थित बसोबासीकेन्द्रित उपयुक्त र उचित स्थायी व्यवस्थापन गरियोस्।

५. अन्यथा स्थायी विकल्पबिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्केर बस्न बाध्य हुनेछौँ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्