निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलिएको अध्ययन



काठमाडौँ, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका मिथ्या सूचनामध्ये ८७ प्रतिशत सामाजिक सञ्जालमार्फत प्रवाह भएको एक अनुसन्धानले देखाएको छ।

सेन्टर फर मिडिया रिसर्च (सीएमआर)ले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचन अवधिमा सामाजिक सञ्जाल मिथ्या सूचनाको प्रमुख माध्यम बनेको थियो।

सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले अनुसन्धानका क्रममा निर्वाचनसँग सम्बन्धित ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालमार्फत फैलिएको पाइएको बताए। उनका अनुसार सामाजिक सञ्जालमध्ये फेसबुक मिथ्या सूचना फैलाउने सबैभन्दा ठूलो माध्यम बनेको छ।

अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई)बाट निर्मित सामग्री पनि मिथ्या सूचनाको अर्को प्रमुख स्रोतका रूपमा देखिएको छ। यस्ता सामग्री अधिकांश सामाजिक सञ्जालमार्फत प्रसारण भए पनि केही अन्य माध्यमबाट समेत प्रचारप्रसार गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धानका क्रममा कतिपय भिडियो तथा सामग्री मनगढन्ते, सन्दर्भ बङ्ग्याइएका तथा पुराना दृश्यलाई नयाँ घटनाजस्तो प्रस्तुत गरिएको भेटिएको छ। कृत्रिम रूपमा तयार पारिएका दृश्य र काल्पनिक सामग्री पनि मिथ्या सूचनाका रूपमा प्रयोग भएको प्रतिवेदनले देखाएको छ।

कार्यकारी निर्देशक पाठकले एआई हाल मिथ्या सूचना निर्माणमा प्रयोग हुन थालेको भए पनि अहिलेका लागि सामाजिक सञ्जाल नै यसको मुख्य वाहक रहेको बताए। तथ्य जाँचकर्तासँग एआईबाट सम्पादित सामग्री पहिचान गर्ने पर्याप्त प्रविधि नहुँदा चुनौती थपिएको उनको भनाइ थियो।

अनुसन्धानले केही सञ्चारमाध्यमका सामग्रीले समेत मिथ्या सूचनालाई प्रवर्द्धन गरेको देखाएको छ। यद्यपि ती सामग्रीको तथ्य जाँच गरिएको प्रतिवेदनमा उल्लेख छ।

राज्य, निर्वाचन आयोग, नागरिक समाज, सञ्चारमाध्यम, राजनीतिक दल र उम्मेदवारले मिथ्या सूचनाको तथ्य जाँचका प्रयास गरे पनि ती पर्याप्त नभएको अध्ययनले औँल्याएको छ।

सामाजिक सञ्जालमा राखिएका कतिपय पोस्ट पछि हटाइने गरेकाले तिनको पुनः पुष्टि गर्न कठिन हुने पनि अनुसन्धानले देखाएको छ। तथ्य जाँचपछि केही सामग्री सामाजिक सञ्जालबाट हटाइएको तथा त्यसका लागि निर्वाचन आयोगले मेटा कम्पनीसँग सहकार्य गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्