चलचित्र उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौँ, १६ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताए।

चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रको अभिभावकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पुर्‍याउँछ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्र बोर्डको सफलता अर्थपूर्ण हुने उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेट चलचित्रकर्मीको भावना समेट्ने गरी तयार गर्न आग्रह गरे।

संसद्मा विचाराधीन चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्र उद्योगको आवश्यकताअनुकूल बनाउन सबै सरोकारवालासँग सुझाव लिइने उनले बताए।

“चलचित्र विधेयकमा यस क्षेत्रका सबै सरोकारवालाको सुझाव आवश्यक छ। चलचित्रकर्मीका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने बलियो कानुनी दस्तावेज तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ,” उनले भने।

चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले निरन्तर संवाद र सहकार्यबाट प्रभावकारी कानुन बन्न सक्ने विश्वास व्यक्त गरे। चलचित्रकर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने उनले बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको योगदानलाई दिए। चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा जोड दिनुपर्ने उनको भनाइ थियो।

चलचित्र उद्योगलाई आर्थिक रूपमा थप सक्षम बनाउन स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई बलियो बनाउन उनले चलचित्रकर्मीलाई आग्रह गरे।

कार्यक्रममा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी प्रवर्द्धन आवश्यक रहेको बताइन्। नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तारका लागि सरकार, बोर्ड र निजी क्षेत्रबीच थप सुदृढ सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सबै सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने बताए। चलचित्र क्षेत्रको अनुभव र व्यावहारिक पक्ष समेटिएको ऐनले मात्र उद्योगलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले रचनात्मक सुझावको अपेक्षा रहेको बताए।

अध्यक्ष डीसीले वरिष्ठ चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। आगामी आर्थिक वर्षका लागि बोर्डको बजेट चलचित्र उद्योगमैत्री र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले चलचित्र क्षेत्रको संस्थागत विकास, प्रविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच बढाउन थप कार्यक्रम अघि बढाइने बताए।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्