कर्णाली राजमार्गमा फोर्स गाडी कर्णाली नदीमा खस्यो, उद्धार कार्यमा कठिनाइ
कर्णाली, १८ असार । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटनाग्रस्त भई कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार नदीमा जलसतह बढेको र गाडी पूर्ण रूपमा डुबेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको हो।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान करिब ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ को साङ्गेतडास्थित सडकबाट दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलबाट नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई भिरमा अचेत अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले बताए।
उहाँका अनुसार उद्धार सामग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा बेसका सुरक्षाकर्मी संयुक्त रूपमा खोज तथा उद्धारमा खटिएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली पनि सुर्खेतबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजे छुट्दा पाँच जना सवार रहेको जानकारी प्राप्त भए पनि दुर्घटनाको समयमा गाडीमा कति जना थिए भन्ने यकिन हुन सकेको छैन।
दुर्घटनास्थल प्रहरीचौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। भौगोलिक अवस्था जटिल रहेकाले घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












