स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौँ, १८ असार । प्रतिनिधिसभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक दफावार छलफल तथा सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन्। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले अघि सारेको १०० बुँदे सुधार कार्यसूचीअनुसार स्वास्थ्य क्षेत्रमा सुधारका काम भइरहेको बताइन्। विपन्न वर्गका नागरिक आर्थिक अभावका कारण उपचारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले अस्पतालमा १० प्रतिशत शय्या छुट्याउने व्यवस्था गरिएको उनले स्पष्ट गरिन्।
विधेयकमाथिको छलफलमा सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धिकी र कृपाराम रानालगायतले भाग लिए।
छलफलका क्रममा सांसदहरूले विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका संरचनागत तथा व्यवस्थापकीय समस्यालाई पर्याप्त रूपमा सम्बोधन नगरेको टिप्पणी गर्दै ती समस्या समाधान हुनेगरी संशोधन गर्न आग्रह गरे।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले विगतका स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई ‘भाइरस’को संज्ञा दिएको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्ल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐनबहादुर महरले नियमापत्ति जनाए।
नियमापत्तिपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै आवश्यक छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिए।
प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












