मन्त्रिपरिषद्को १० निर्णय, गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त



काठमाडौँ, १८ असार । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्नेसहित १० वटा निर्णय गरिएको बताए। सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा कैलालीका रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरिएको हो।

बैठकले नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सरुवासम्बन्धी निर्णय पनि गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरियो।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरियो।

गृह मन्त्रालयको प्रस्तावअनुसार नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरियो।

पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरियो।

त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरियो।

सरकारले सामाजिक तथा प्रशासनिक सुधारका लागि विभिन्न नियमावली र नीति पनि स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गरियो।

त्यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा ‘शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३’ स्वीकृत गरियो। साथै ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ पनि स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्