अन्तरप्रदेश सार्वजनिक यातायात र मालवाहक सवारीको भाडा दुई प्रतिशतले घट्यो
काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ।
विभागले आज सूचना जारी गर्दै गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित भाडा समायोजन प्रणालीअनुसार नयाँ भाडादर लागू गरिएको जनाएको छ।
विभागका अनुसार पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। असार १७ गतेदेखि डिजेलको औसत मूल्य प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि सोही आधारमा भाडादर दुई प्रतिशतले घटाइएको हो।
यसअघि विभागले विसं २०८३ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर पाँच प्रतिशतले वृद्धि गरेको थियो।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको बताए।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












