एफएटिएफको ग्रे लिस्टबाट बाहिरिन सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले



काठमाडौँ, २० असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्धताका साथ काम गरिरहेको बताए।

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबैको पूर्ण सहयोग आवश्यक रहेको बताए।

उनले एफएटिएफले दिएका सबै सुझाव कार्यतालिकासहित प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। सुझाव कार्यान्वयन हुन नसके नेपाल ‘कालो सूची’मा पर्न सक्ने सम्भावना रहेकाले यसको गम्भीरतालाई ध्यानमा राखी सहयोग गर्न उनले आग्रह गरे।

सरकार गठन भएयता एफएटिएफका सुझाव पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार सक्रिय रहेको पनि उनले बताए।

नेपाल २०८१ साल फागुनदेखि एफएटिएफको ‘ग्रे लिस्ट’मा रहेको छ। अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको उक्त प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ।

यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले विधेयकलाई सम्बन्धित समितिमा पठाई विस्तृत छलफलपछि साझा सहमतिका आधारमा अघि बढाउनुपर्ने बताए

छलफलमा सांसद सुरेश आलेमगर, रामकुमारी झाँक्री, विष्णुकुमारी सापकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले धारणा राखेका थिए।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्