सीमा सुरक्षा र प्रहरी पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री गुरुङ
विराटनगर, २० असार । गृहमन्त्री सुधन गुरुङले मोरङका सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल–भारत सीमा सुरक्षा, प्रहरी पूर्वाधार र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन्।
विराटनगर पुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, रानीस्थित जोगबनी सीमा नाका, विराटनगर भन्सार कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका हुन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रहरी कार्यालयका जीर्ण भवन र भौतिक पूर्वाधारको समस्याबारे सरकार जानकार रहेको बताए। बजेट अभावका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै स्रोत व्यवस्थापन गरी प्रहरीका आवश्यक भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय मोरङमा गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग जिल्लाको शान्तिसुरक्षा, प्रशासनिक सेवा प्रवाह र समसामयिक अवस्थाबारे जानकारी लिए। प्रशासनसँग रहेको सरकारी जग्गाको उपयोग गरी एकीकृत सेवा प्रवाहको व्यवस्था गर्न सकिने उनले उल्लेख गरे।
त्यसपछि उनले कोशी प्रदेश प्रहरी कार्यालयमा प्रदेशस्तरीय सुरक्षा अधिकारीसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाबारे छलफल गरे।
रानीस्थित जोगबनी सीमा नाकामा पुगेर गृहमन्त्री गुरुङले सीमा सुरक्षाको अवस्था, आवतजावत, निगरानी व्यवस्था तथा चोरीपैठारी नियन्त्रणका उपायबारे जानकारी लिए। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग आवश्यक सुधारका विषयमा पनि उनले छलफल गरे।
विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी निरीक्षणका क्रममा उनले सीमाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
जिल्ला प्रहरी कार्यालय मोरङमा गृहमन्त्री गुरुङले प्रहरी प्रमुख एसपी कविता कटवालबाट जिल्लाको शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी परिचालनबारे जानकारी लिए। उनले प्रहरी हिरासत, ब्यारेक तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्दै सुधार आवश्यक रहेका पक्षबारे चासो व्यक्त गरे।
प्रहरी सङ्गठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको दोहोर्याउँदै गृहमन्त्री गुरुङले आवश्यक बजेट व्यवस्थापन गरी जीर्ण प्रहरी भवनको निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइने प्रतिबद्धता जनाए।
मोरङका विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको निरीक्षणपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ प्रस्थान गरे। निरीक्षणका क्रममा उनले सीमा सुरक्षा, प्रशासनिक सेवा प्रवाह र सुरक्षा संयन्त्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिए।
प्रकाशित मिति: २० असार २०८३, शनिबार












