ट्रम्पसँग चाँडै भेट्ने सहमतिमा नेतन्याहु
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले निकट भविष्यमा संयुक्त राज्य अमेरिका भ्रमण गर्ने भएका छन्। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन संवादका क्रममा दुवै नेताले अमेरिकामा छिट्टै भेट गर्ने सहमति गरेका हुन्।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेतन्याहुले अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई इजरायलका तर्फबाट शुभकामना व्यक्त गरेका थिए। उहाँले अमेरिका विश्वमा स्वतन्त्रताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै इजरायलले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई उच्च मूल्याङ्कन गर्ने बताएका छन्।
यद्यपि प्रस्तावित भेटवार्ताको मिति र स्थानबारे प्रधानमन्त्रीको कार्यालयले कुनै जानकारी सार्वजनिक गरेको छैन। इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल का अनुसार दुवै पक्षबीच तयारी जारी रहेको छ।
हालैका साताहरूमा राष्ट्रपति ट्रम्पले लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलले जारी राखेको सैन्य कारबाहीले इरानसँगको शान्ति वार्तामा असर परेको भन्दै नेतन्याहुको आलोचना गरेका थिए। यही पृष्ठभूमिमा भएको टेलिफोन संवादलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
इरानसँग भएको १४ बुँदे समझदारीअनुसार युद्धविरामको वातावरण बनाउन ६० दिनको समयसीमा तय गरिएको छ। जुलाई १ मा कतारको दोहामा अमेरिका र इरानका प्रतिनिधिबीच छुट्टाछुट्टै वार्ता भएको थियो। कतारको विदेश मन्त्रालयले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै छलफललाई निरन्तरता दिने सहमति भएको जनाएको छ।
यसैबीच, इजरायलले लेबनानसँग युद्धविराम कायम रहे पनि हिजबुल्लाहविरुद्ध आवश्यक सैन्य कारबाही जारी रहने स्पष्ट गरेको छ। इजरायली उपविदेशमन्त्री शारेन हास्केलले हिजबुल्लाहले अझै पनि इजरायलको सुरक्षामा प्रत्यक्ष चुनौती दिइरहेको भन्दै त्यसलाई निःशस्त्र नगरी लेबनानमा दीर्घकालीन स्थायित्व सम्भव नहुने बताएका छन्।
उहाँका अनुसार हिजबुल्लाहबाट आक्रमण जारी रहेसम्म इजरायलले आफ्ना नागरिक र सुरक्षाको रक्षा गर्न सैन्य कारबाही पनि निरन्तर जारी राख्नेछ। साथै लेबनानी सरकारले पनि उक्त समूहलाई निःशस्त्र गर्न चाहेको उहाँको भनाइ थियो।
यसअघि प्रधानमन्त्री नेतन्याहुले अमेरिकाबाट प्राप्त आर्थिक सहायता क्रमशः अन्त्य गर्ने नीति अघि सार्दै इजरायलको अर्थतन्त्र अहिले आत्मनिर्भर अवस्थामा पुगेको बताएका थिए। उहाँले इजरायल अब विदेशी अनुदानमा निर्भर रहने अवस्था नरहेको उल्लेख गर्दै अमेरिकी सहायता रोक्ने प्रक्रिया यसै वर्षदेखि सुरु गर्न चाहेको बताएका छन्।
प्रकाशित मिति: २० असार २०८३, शनिबार












