शिक्षा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता, बजेट सात अर्बले वृद्धि
काठमाडौँ, असार २२ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि गरेको बताएका छन्।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा रु दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए। यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको उनले बताए।
उनका अनुसार प्रतिशतका आधारमा बजेट अघिल्लो वर्षभन्दा ०.४७ प्रतिशतले कम देखिए पनि रकमका हिसाबले करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ। प्रदेश सरकारबाट विद्यालय नर्स, शिक्षण अनुदान, सूचना प्रविधि प्रयोगशाला र विद्यालय पूर्वाधारका लागि छुट्टै बजेट विनियोजन हुने भएकाले शिक्षा क्षेत्रमा हुने कुल लगानी अझ बढ्ने उनले उल्लेख गरे।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत, उच्च शिक्षामा ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षामा २.५६ प्रतिशत, खेलकुदमा १.७४ प्रतिशत र व्यवस्थापनतर्फ १५.१७ प्रतिशत बजेट विनियोजन गरिएको छ।
विद्यालय शिक्षाअन्तर्गत पूर्वाधार निर्माणका लागि रु १० अर्ब ४५ करोड छुट्याइएको छ। साथै ७ हजार ६६० जनालाई बजारमुखी सीप विकास तालिम, प्रदेश तहबाट एसईई परीक्षा सञ्चालनका लागि रु ३५ करोड, तथा प्रदेशस्तरीय विद्यालय शिक्षा योजनाका लागि रु ६२ करोड ४० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए।
स्मार्ट बोर्ड र विद्यालय पूर्वाधारमा जोड
मन्त्री पोखरेलले माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड व्यवस्थापनका लागि रु एक अर्ब सात करोड बजेट छुट्याइएको बताए। साथै विद्यार्थी सङ्ख्याका आधारमा स्थानीय तहसँगको साझेदारीमा विद्यालय भवन निर्माणका लागि रु दुई अर्ब ३७ करोड विनियोजन गरिएको जानकारी दिए।
प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ। साविक कर्णाली अञ्चलका जिल्लामा प्रतिदिन रु २५ र अन्य जिल्लामा रु २० का दरले बजेट व्यवस्था गरिएको उनले बताए।
पाठ्यक्रम सुधार र विद्यालय पुनर्संरचना
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न कार्यदल गठन गरी काम अघि बढाइएको मन्त्री पोखरेलले बताए। नयाँ प्रारूप कार्यान्वयनमा आएपछि विद्यालय शिक्षामा गुणस्तरीय सुधार आउने विश्वास उनले व्यक्त गरे।
उनले विद्यार्थी सङ्ख्या अत्यन्त कम भएका विद्यालयलाई भौगोलिक अवस्था र आवश्यकताका आधारमा गाभ्ने, तह घटाउने वा साना विद्यालयका रूपमा सञ्चालन गर्ने योजना रहेको बताए। तर, एक जना विद्यार्थीको पनि शिक्षा पाउने अधिकार कुण्ठित नहुने गरी मात्रै निर्णय गरिने उनको भनाइ थियो।
डिजिटल शिक्षा र समावेशी कार्यक्रमलाई निरन्तरता
मन्त्री पोखरेलले अपाङ्गता भएका बालबालिकाका लागि आवासीय छात्रवृत्ति, डिजिटल पाठ्यपुस्तक, विशेष विद्यालय सञ्चालन तथा प्रत्येक प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालनको व्यवस्था गरिएको जानकारी दिए।
उच्च शिक्षामा अनुसन्धान, उद्यमशीलता विकास, सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली तथा कार्यसम्पादनमा आधारित अनुदानका लागि रु ५९ करोड बजेट विनियोजन गरिएको पनि उनले बताए।
खेलाडी प्रोत्साहन र विश्वविद्यालय सुधार
मन्त्री पोखरेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार र सम्मानको व्यवस्था गरिएको बताए। साथै विश्वविद्यालयहरूलाई क्रमशः आत्मनिर्भर बनाउने नीति अपनाइने भए पनि आवश्यक न्यूनतम खर्च सरकारले नै व्यहोर्ने स्पष्ट पारे।
हाल आधारभूत तहको खुद भर्नादर ९७.७ प्रतिशत पुगेको जानकारी दिँदै उनले विद्यालयबाहिर रहेका बालबालिकाको विवरण सङ्कलन गरी लक्षित कार्यक्रम सञ्चालन गरिने बताए।
सरकारी विद्यालयप्रति अभिभावकको विश्वास बढाउन गुणस्तर सुधारका कार्यक्रमलाई निरन्तरता दिइने र विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरी समयमै भर्ना तथा नतिजा प्रकाशनको व्यवस्था गरिने उनले बताए।
मन्त्री पोखरेलले डोम, चमार, मुसहर र बादी समुदायका विद्यार्थीका लागि एमबिबिएस अध्ययनमा छात्रवृत्ति व्यवस्था गरिएको जानकारी दिँदै चिकित्सा शिक्षामा दलित र मधेसी समुदायका लागि आरक्षणको व्यवस्था कायम रहेको स्पष्ट पारे।
सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारलाई सरकारले निरन्तरता दिएको उल्लेख गर्दै उनले हाल ६८.२ प्रतिशत विद्यालयमा सूचना प्रविधि पूर्वाधार, ७३.९ प्रतिशतमा विद्युत् सुविधा र ६९.७ प्रतिशत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको जानकारी दिए। डिजिटल शिक्षाको विस्तार आगामी वर्ष पनि सरकारको प्राथमिकतामा रहने उनले बताए।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












