कोशीमा धान रोपाइँ उत्साहजनक, ३१ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न
विराटनगर, २२ असार । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ। समयमै वर्षा हुनु र सिँचाइको पर्याप्त सुविधा उपलब्ध भएकाले रोपाइँको गति बढेको हो।
कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ८७ हजार ३३ हेक्टर अर्थात् ३१.४९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीका अनुसार गत वर्ष असार २२ गतेसम्म २९.५४ प्रतिशत मात्र रोपाइँ भएको थियो। यस वर्ष सोही अवधिको तुलनामा करिब दुई प्रतिशतले बढी क्षेत्रमा रोपाइँ भएको उनले बताए।
क्षेत्रगत रूपमा मध्य पहाडी जिल्लामा सबैभन्दा बढी प्रगति भएको छ। आठ मध्य पहाडी जिल्लामा औसत ४२.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तीमध्ये भोजपुरमा ७३ प्रतिशत र पाँचथरमा ५६ प्रतिशत क्षेत्रमा धान रोपिएको छ।
उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा औसत २३.८३ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
धान उत्पादनका दृष्टिले महत्त्वपूर्ण झापा, मोरङ र सुनसरीमा पनि पछिल्लो १० दिनमा रोपाइँले गति लिएको छ। असार १३ गतेसम्म करिब ८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको तराईमा अहिले २८.१७ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। तराईका १ लाख ९३ हजार २८५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५४ हजार ४४० हेक्टरमा धान रोपिएको छ।
निर्देशनालयका अनुसार खोटाङमा ४४ प्रतिशत, ओखलढुङ्गामा ३३ प्रतिशत र उदयपुरमा ३१ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।
निर्देशक डाँगीले समयमै परेको वर्षा र सिँचाइ सुविधाले रोपाइँमा उल्लेखनीय सुधार भएको बताए। यसले यस वर्षको धान उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
निर्देशनालयका अनुसार नियमित वर्षा भइरहेकाले असार मसान्तसम्म प्रदेशमा धान रोपाइँको प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












