खरिपाटी होल्डिङ सेन्टरको मन्त्रीहरूको अवलोकन, सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनमा सरकारको जोड



काठमाडौँ, २८ असार गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले शनिबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्।

गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्।

अवलोकनका क्रममा भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेपछि आगामी दिनमा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सरकारले काम गरिरहेको बताइन्। सुकुम्बासी व्यवस्थापनमा केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले यसको दीर्घकालीन र दिगो समाधानका लागि काम गरिरहेको बताइन्।

सुकुम्बासीका नाममा राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले वास्तविक समस्या समाधानमा सरकार केन्द्रित रहेको बताइन्।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीसँग छलफल गर्दै उनीहरूको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी दिएका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर बाढीका कारण डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई अस्थायी रूपमा भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्