विश्वकप–२०२६ : सेमिफाइनलमा चारै पूर्व विजेता, अर्जेन्टिना–इङ्ल्यान्ड र फ्रान्स–स्पेन भिड्ने



काठमाडौँ, २८ असार फिफा विश्वकप–२०२६ को रोमाञ्चक यात्रा सेमिफाइनल चरणमा पुगेसँगै अन्तिम चार टोलीको टुङ्गो लागेको छ।

सेमिफाइनलमा स्थान बनाउने चारै टोली पूर्व विश्वविजेता हुन्। अन्तिम चारमा साविक विजेता अर्जेन्टिनासँगै साविक उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेन पुगेका छन्।

संयोगवश, यी चारै टोली फिफा वरीयताको शीर्ष चार स्थानमा पनि रहेका छन्। अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छन्।

आइतबार बिहान भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

अर्को क्वार्टरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

यसअघि फ्रान्सले मोरक्कोलाई २–० तथा स्पेनले बेल्जियमलाई २–१ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए।

सेमिफाइनलमा फ्रान्स र स्पेनबीच बुधबार राति तथा अर्जेन्टिना र इङ्ल्यान्डबीच बिहीबार राति प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले साउन ४ गते न्युयोर्क–न्यु जर्सीमा हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनलमा पुगेका टोलीमध्ये अर्जेन्टिना सबैभन्दा सफल टोली हो। अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा गरी तीन पटक विश्वकप जितेको छ। फ्रान्सले १९९८ र २०१८ मा उपाधि जितेको थियो। इङ्ल्यान्ड १९६६ र स्पेन २०१० मा विश्वविजेता बनेका थिए।

विश्वकप जित्ने देश आठ मात्रै

विश्वकप फुटबलको २२औँ संस्करणसम्म आइपुग्दा सहभागी राष्ट्रको संख्या ४८ पुगे पनि हालसम्म आठ देशले मात्र उपाधि जित्न सफल भएका छन्। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप आयोजना हुन सकेको थिएन।

विश्वकप इतिहासमा ब्राजिल सबैभन्दा सफल टोली हो। ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँच पटक उपाधि जितेको छ। साथै, ब्राजिल विश्वकपका सबै संस्करणमा सहभागी हुने एकमात्र टोली पनि हो।

यस संस्करणमा भने ब्राजिलको यात्रा प्रि–क्वार्टरफाइनलमै टुङ्गिएको थियो। नर्वेसँग २–१ गोलले पराजित भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो।

जर्मनीले चार पटक (१९५४, १९७४, १९९० र २०१४) विश्वकप जितेको छ। यसपटक भने जर्मनी राउन्ड अफ ३२ मा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै बाहिरिएको थियो।

चार पटककै विश्वविजेता इटाली यस संस्करणमा छनोट हुन सकेन भने सन् १९३० र १९५० को विश्वविजेता उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्