मनसुनजन्य रोग नियन्त्रणका लागि सरकारले ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने



काठमाडौँ, २८ असार । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनका बेला विभिन्न सरुवा रोगको जोखिम बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि विशेष अभियानको तयारी गरेको हो।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखाला, जापानीज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोग नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ सञ्चालन गरिने बताएका छन्।

उनका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा जोखिम मूल्याङ्कन गरी जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

“रोग नियन्त्रणमा अघिल्लोभन्दा उल्लेखनीय प्रगति भएको छ। मनसुनजन्य रोगबाट हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन र रोकथामका उपायबारे छलफल भइरहेको छ,” डा. भट्टचनले बताएका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले सामाजिक सञ्जालमार्फत मनसुनजन्य रोगबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको बताइन्।

“रोग नै लाग्न नदिन सर्वसाधारणलाई सामाजिक सञ्जालमार्फत सचेत बनाउने अभियान सञ्चालन गरेका छौँ। पहिलाको तुलनामा जनचेतना बढेकाले रोगको प्रकोप पनि घट्दै गएको छ,” उनले बताइन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथाम गर्नु उपचारभन्दा कम खर्चिलो र बढी प्रभावकारी हुने बताएका छन्।

उनले डेङ्गी, हैजा र झाडापखालाजस्ता रोग मनसुनमा बढी देखिने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य तथा कीटजन्य रोगको जोखिम बढी रहने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। उनले मनसुन सुरु भएसँगै डेङ्गी सङ्क्रमण पनि बढ्ने बताएका छन्।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्