मिडिया हउस अगाडिका वेवारिसे गाडीलाई क्रेनले तानेर बग्गीखाना ल्याउँदै ट्राफिक प्रहरी



काठमाडौं। मिडिया हाउस अगाडि कार्यालयमा आवतजावत गर्न नै असर पर्ने पार्किङ गरेर राखिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले क्रेन लगाएर बग्गीखाना ल्याएको छ ।

समाचारको विषयमा विरोध जनाउँदै देशका प्रमुख सञ्चार माध्यमको कार्यालय गेट बाहिर आवतजावतमा असर पर्ने गरि सवारी पार्किङ गरिएको थियो ।

सोमबार बिहानैदेखि तीनकुनेमा रहेको कान्तिपुर पब्लिकेसन, बानेश्वरमा रहेको अनलाइन खबर, मध्य बानेश्वरमा रहेको हिमालयन टेलिभिजनलगायतका मिडिया हाउसदेखि आनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि समेत सवारी पार्किङ गरेर चालकहरु बाहिरिएका हुन् । पार्किङमा राखिएका सवारी साधनहरु कसको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

मिडिया हाउसका अगाडि मोटरसाइकल मात्र छिर्न मिल्ने गरि गाडी पार्क गरिएको छ। कान्तिपुर बाहिर बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी पार्क गरिएको हो।

सोमबार बिहानैदेखि तीनकुनेमा रहेको कान्तिपुर पब्लिकेसन अगाडि सवारी राखिएको हो। कान्तिपुर प्रशासनले विहानै नेपाल प्रहरीलाई जानकारी गराए पनि भर्खरै मात्र ट्राफिक प्रहरीले क्रेनको सहायताले गाडी हटाएको हो ।
अनलाइनखबरका कर्मचारीले दिएको जानकारी अनुसार बिहान करिब ७ बजेतिरै अज्ञात व्यक्तिले बुद्धनगरस्थित कार्यालयको गेटैमा कार पार्क गरेर हिँडेका थिए । उक्त कारले गर्दा अन्य गाडी कार्यालयभित्र छिराउन सकिएको छैन । कार चालकको पनि पत्तो छैन ।

यद्यपी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले घटनाको छानबिन भइरहेको बताएका छन् । उनले सवारीधनी को हो भनेर खोजि भइरहेको जानकारी गराउँदै क्रेन लगाएर गाडी उठाइएको बताए ।

अनलाइन नेपालसँग कुरा गर्दै उनले भने–‘अवैध रुपमा पार्किङमा राखिएको सवारीसाधका धनीहरु अधिकांश बाहिर हुनुहुँदो रहेछ । उहाँहरुले आफूहरु काठमाडौं बाहिर भएको बताउनु भएको छ । ड्राइभरले गाडी लगेको उहाँहरुको भनाई छ । बाँकी अनुसन्धान सवारी साधन ट्राफिक प्रहरी कार्यालयमै ल्याएर गर्छौं ।’ उनले दुई वटा सवारीका धनीले आफूहरु नगरकोटमा रहेको जानकारी गराएको पनि बताए ।

बिहिबार गणेश नेपालीले काठमाडौं महानगरपालिकाको प्रहरी बलले आफ्नो बाइकमा ह्वील लक गरेको भन्दै आत्मदाह गरेपछि संचार माध्यमले सरकारको आलोचना भएको विषयमा समाचार लेखेका थिए। सामाजिक संजालमा अहिले सरकारको चर्को विरोध भइरहेको छ।

अघिल्ला सरकारको समयमा प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गरेका थिए। त्यसबेला तत्कालिन काठमाडौं महानगरका प्रमुख रहेका बालेन्द्र शाहले सरकारको आलोचना गर्दै राज्यलाई जिम्मेवार ठहर्याएका थिए।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्