अविरल वर्षापछि मकवानपुरका दुई प्रमुख सडकमार्गमा सवारी आवागमन रोक
मकवानपुर, २९ असार । अविरल वर्षाका कारण बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथमा अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरेको छ। त्यसैगरी हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकखण्डमा सोमबार साँझदेखि मङ्गलबार बिहानसम्म सवारी आवागमन रोक लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा उच्च जोखिमको अवस्था सिर्जना भएको भन्दै सुरक्षा सतर्कताका लागि उक्त निर्णय गरिएको बताए।
उनले जारी गरेको सूचनाअनुसार कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालन बन्द गरिएको छ।
त्यसैगरी हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
प्रशासनका अनुसार सिस्नेरी हुँदै काठमाडौँ जाने सवारीसाधन हेटौँडाको चौकीटोलमा रोकिनेछन् भने कान्ति लोकपथ प्रयोग गर्ने सवारीसाधन हेटौँडा उपमहानगरपालिका–६ स्थित चौघडामा रोकिने व्यवस्था गरिएको छ।
यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यो निर्णय गरिएको जनाउँदै प्रशासनले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक र सर्वसाधारणलाई तोकिएको समय र स्थानपछि सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।
मौसम र सडक अवस्थाबारे आधिकारिक सूचनाको निरन्तर पालना गर्न तथा सुरक्षित स्थानमा रहन पनि प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










