कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल, प्रेस रजिस्ट्रारमा भट्टराई नियुक्त
विराटनगर, २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्।
कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका पूर्वअध्यक्ष दाहाललाई प्रतिष्ठानको अध्यक्ष तथा पत्रकार भट्टराईलाई प्रेस रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ४ बमोजिम उक्त नियुक्ति गरिएको हो।
प्रेस रजिस्ट्रार पदका लागि नौ जनाले आवेदन दिएका थिए। तीमध्ये सात जना अन्तर्वार्तामा सहभागी भएका थिए। अन्तर्वार्तामा लिलाराज भट्टराईसहित गोपाल काफ्ले, देवेन्द्र कार्की, बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बाँस्तोला र प्रभासचन्द्र झा सहभागी भएका थिए।
मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका सात सदस्यसमेत नियुक्त गर्दै संस्थालाई पूर्णता दिएको छ। नियुक्त सदस्यहरूमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ) तथा रेणु पराजुली (उदयपुर) रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। यससँगै प्रतिष्ठान ११ सदस्यीय बनेको छ।
कोशी प्रदेश आमसञ्चार ऐनअनुसार प्रतिष्ठानले प्रदेशभित्र सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, नवीकरण, अनुगमन तथा अभिलेखीकरण गर्नेछ। साथै सञ्चार माध्यमको विकास तथा प्रवर्द्धन, पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको हित संरक्षणका लागि आवश्यक काम गर्ने जिम्मेवारी पनि प्रतिष्ठानलाई दिइएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










