बेवारिसे गाडी प्रकरणले बढायो शङ्का, सञ्चारगृहदेखि नेताका घरसम्म पार्किङ
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह र राजनीतिक नेताका घरअगाडि शङ्कास्पद रूपमा बेवारिसे गाडी पार्किङ गरिएपछि सोमबार दिनभरि अन्योल र चासो बढ्यो।
कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालय गेटसँगै कांग्रेस नेता गगन थापाको घर तथा भाटभटेनी सुपरमार्केट अगाडि निजी नम्बर प्लेटका गाडीहरू छाडिएको अवस्थामा फेला परेका थिए।
यो घटनालाई धेरैले हालैको गणेश नेपाली आत्मदाह प्रकरणपछि सरकारको आलोचना गरिरहेका सञ्चारमाध्यम र राजनीतिक व्यक्तित्वलाई लक्षित दबाबको प्रयासका रूपमा हेरेका छन्।
समाचार सार्वजनिक भएपछि प्रहरीले क्रेन प्रयोग गरेर सबै गाडी हटाई ट्राफिक कार्यालय लगेको छ। तर घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन। प्रहरीले छानबिन भइरहेको जनाएको छ।
कांग्रेस नेता गगन थापाले आफ्नो घरमा गाडी राख्ने व्यक्ति प्रशासनको गाडी चढेर गएको जानकारी स्थानीयबाट प्राप्त भएको दाबी गरे। घटनाबारे गम्भीर छानबिन हुनुपर्ने उनले बताए।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि घटनाप्रति शङ्का व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया सोसाइटी तथा विभिन्न राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गर्न र दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
यसबीच कान्तिपुरको कार्यालयअगाडि पार्किङ गरिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रवी जैसवालसँग सम्बन्धित रहेको खुलेको छ। अनलाइनखबर र हिमालय टेलिभिजन अगाडि पार्किङ गरिएका गाडीका धनीको समेत पहिचान भइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
घटनामा संलग्न व्यक्तिहरूको परिचय खुलिसक्दा पनि कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। छानबिन जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










