सञ्चारमाध्यममाथि हस्तक्षेप रोक्न नेकपाको माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा शङ्कास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कामकाजमा अवरोध पुर्याइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि प्रकारको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेको हो।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गरिएको छ।
प्रेसलाई त्रसित बनाउने, दबाबमा राख्ने वा भयको वातावरण सिर्जना गरेर सत्य सूचना प्रवाह रोक्न खोज्ने प्रवृत्ति लोकतन्त्रविरोधी भएको नेकपाले जनाएको छ। यस्तो कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने पार्टीले उल्लेख गरेको छ।
विज्ञप्तिमा सुकुम्बासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगार युवा तथा जनजीविकाका सवालमा निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई निशाना बनाउने प्रयास अत्यन्त गम्भीर भएको उल्लेख गरिएको छ।
राज्य संयन्त्रका कमजोरी लुकाउन वा आलोचनात्मक आवाज कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनविपरीत रहेको पार्टीले जनाएको छ।
नेकपाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गर्न, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि पार्टीले आग्रह गरेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै सञ्चारमाध्यमले निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने नेकपाको माग छ।
Provide your feedback on BizChat
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










