शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति, छानबिन र कारबाहीको माग
काठमाडौं । राजधानीका विभिन्न सञ्चारगृहको गेटअगाडि बेवारिसे रूपमा सवारीसाधन पार्किङ गरी आवतजावत अवरुद्ध बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा कार पार्क गरिएपछि केही समय आवतजावत प्रभावित भएको थियो।
महासंघले यस घटनालाई सञ्चारमाध्यमको निर्बाध कार्यसम्पादनमा अवरोध पुर्याउने र गम्भीर प्रकृतिको घटना भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षाको सुनिश्चितता गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
सवारीधनीको पहिचान गर्ने काम जारी रहेको र क्रेनको सहायताले गाडीहरू हटाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










