विश्वकप लिग २ को अभ्यास खेल : जर्सीविरुद्धका दुवै खेलमा नेपाल विजयी



काठमाडौं । विश्वकप लिग २ को त्रिकोणात्मक शृङ्खला अघि नेपालले राम्रो तयारी गर्ने क्रममा जर्सीविरुद्धको २ एकदिवसीय खेलमा क्लिन स्विप गरेको छ ।

बुधबार राती सम्पन्न दोस्रो खेल डकवर्थ लुईस मेथडमा नेपालले ७ रनले जितेर दुई खेलको शृङ्खला २(० ले जितेर लिग २ अगाडी राम्रो लय देखाएको हो ।

जर्सीले दिएको २८३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण खेल सुचारु हुन नसकेपछि नेपाल डिएलएस मेथडमा ७ रनले विजयी भयो ।

नेपालको जितमा इशान पान्डेले ११५ बलमा सर्वाधिक ९० रनको इनिङ खेले । उनले १४ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल ४२ बलमा ५१ रन बनाउँदै पवेलियन फर्किए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८२ रनको योगफल तयार गरेको थियो ।

जर्सीका लागि ओपनर प्याट्रिक गौसले ११० बलमा १० चौका र २ छक्काको सहयोगमा ९५ रनको इनिङ खेले । ज्याक ट्रिवले ५० रनको अर्धशतकीय इनिङ खेल्दा ह्यारीसनले ५६ रन बनाए ।

नेपालका लागि करन केसी र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशीले १ विकेट लिए । नेपालले पहिलो एकदिवसीय खेलमा जर्सीमाथि ८१ रनको जित हासिल गरेको थियो ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्