अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव



काठमाडौँ, ३२ असार प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीतिमा आवश्यक लचकता र सहजीकरण गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भएको छलफलमा प्रधानमन्त्री शाहले समग्र आर्थिक विकास, पुँजी बजारको स्थायित्व तथा उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।

सरकार र राष्ट्र बैंकबीचको सहकार्यबाट मात्र अर्थतन्त्रमा विश्वासको वातावरण सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले सेयर बजारमा आबद्ध लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रधानमन्त्री शाहले मौद्रिक नीतिमा रहेका केही सीमित र जटिल व्यवस्थालाई खुकुलो बनाउँदै सेयर बजार तथा निजी क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्न सुझाव दिए। उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा योगदान दिने उद्यमीलाई सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न तथा बैंकको ब्याजदर र कर्जा प्रवाहलाई उद्यममैत्री बनाउनुपर्ने उनले बताए।

महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्नेमा पनि प्रधानमन्त्री शाहले जोड दिए।

छलफलमा गभर्नर पौडेलले आगामी मौद्रिक नीति समयानुकूल, व्यावसायिक र लचिलो बनाउने प्रतिबद्धता व्यक्त गरे। अर्थतन्त्रलाई गति दिनु सरकार र राष्ट्र बैंकको साझा उद्देश्य रहेको उल्लेख गर्दै उनले लगानीकर्ता र उद्यमीलाई सहज वातावरण प्रदान गर्ने नीति अवलम्बन गरिने बताए।

सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्मलाई नीतिगत सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा राष्ट्र बैंक प्रतिबद्ध रहेको गभर्नर पौडेलले बताए।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्