अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई १० करोडभन्दा बढी नगद पुरस्कार दिने सरकारको निर्णय
काठमाडौँ, ३१ असार । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेल टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) बमोजिम खेलाडी तथा सम्बन्धित टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत १०१ जना खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोलाई सम्मान गरिनेछ।
पुरस्कार प्राप्त गर्नेमा १५औँ विश्व बडीबिल्डिङ एन्ड फिजिकल स्पोर्ट्स च्याम्पियनसिप–२०२४, प्रथम खो–खो विश्वकप–२०२५, एसियन बेल्ट रेस्लिङ–२०२५, एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५, एसियन बीच गेम्स–२०२६, एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ लगायतका प्रतियोगिताका पदक विजेता खेलाडीहरू रहेका छन्।
त्यसैगरी बडीबिल्डिङ एन्ड फिजिकल स्पोर्ट्स च्याम्पियनसिप–२०२५, एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५, आईएसएफ जिम्नासियाड–२०२४ तथा एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४ का सफल खेलाडी र टोली पनि पुरस्कारको सूचीमा समावेश छन्।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










