लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य अधिकार, स्वास्थ्य सेवामा पहुँच र आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ।
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालको प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती, हर्मोन थेरापी, लिङ्ग परिवर्तन शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकताबारे ध्यानाकर्षण गराएको थियो।
छलफलका क्रममा मन्त्री मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य आवश्यकता सम्बोधन गर्न आवश्यक नीतिगत र प्राविधिक पहलमा मन्त्रालय सकारात्मक रहेको उनले बताइन्।
सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरी समुदायका स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक पहल अघि बढाइने प्रतिबद्धता पनि मन्त्री मेहताले व्यक्त गरिन्।
भेटमा मायाको पहिचान नेपालका संस्थापक सुनीलबाबु पन्तसहित समुदायका प्रतिनिधिहरू सहभागी थिए।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










