ऊर्जा क्षेत्रको विकासमा सबै पक्षको सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय आर्थिक पत्रकार सङ्घ (नाफिज) ले ललितपुरमा आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले नेपालका नदीहरू विद्युत् उत्पादनमा मात्र सीमित नभई उद्योग, रोजगारी, उत्पादन, प्रतिस्पर्धी अर्थतन्त्र तथा दिगो समृद्धिको आधार बन्न सक्ने बताए।

जलविद्युत् आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय सामाजिक, आर्थिक र शैक्षिक विकासमा पनि योगदान पुर्‍याउने उल्लेख गर्दै मन्त्री श्रेष्ठले मानव विकास सूचकाङ्क सुधारमा पत्रकारसहित सबै सरोकारवालाको सकारात्मक भूमिका आवश्यक रहेको बताए।

उनले आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन सञ्चालनमा ल्याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

मन्त्री श्रेष्ठले आन्तरिक विद्युत् खपत बढाउन उद्योग, यातायात, कृषि तथा घरायसी क्षेत्रमा विद्युत् प्रयोग विस्तार गर्ने कार्ययोजना अघि बढाइएको बताए। वर्षायाममा बचत हुने विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गर्ने नीति पनि सरकारको प्राथमिकतामा रहेको उनले उल्लेख गरे।

ऊर्जा पूर्वाधारको विकास र स्तरोन्नति वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको भन्दै उनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय पूर्वाधार निर्माणका लागि करिब ८० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्