२७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध हुने



काठमाडौँ, ३२ असार । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट प्राप्त विवरण २४ घण्टाभित्रै छापेर उपलब्ध गराइने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न गरिएको हो। यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको ब्याकलग अन्त्य भएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि २०८३ वैशाख ४ गते थप १५ लाख लाइसेन्स छाप्न दोस्रो सम्झौता गरिएको थियो। दुवै चरणको काम सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य पूरा भएको हो।

हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको दैनिक तीन हजारदेखि पाँच हजारसम्म विवरण प्राप्त गरी २४ घण्टाभित्रै लाइसेन्स छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी थप सम्झौता गर्ने तयारीसमेत भइरहेको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहल र समन्वयका कारण वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाइ कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

सुरक्षण सामग्री स्वदेशमै छापिने

सुरक्षण मुद्रण केन्द्रले अब सवारी चालक अनुमतिपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायतका सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी गरेको छ।

यसबाट विदेशिने ठूलो रकम जोगिनुका साथै स्वदेशमा पुँजी परिचालन, रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्