गभर्नरमाथि राजनीतिक हस्तक्षेप घातक हुन्छ : अर्थमन्त्री वाग्ले



काठमाडौँ, १ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका छन्। गभर्नरलाई निजामती कर्मचारीसरह एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने वा हटाउने अभ्यास घातक हुने उनले बताए।

प्रतिनिधिसभाको अर्थ समितिले सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंक स्वायत्त र स्वतन्त्र संस्था भएकाले राजनीतिक प्रभावबाट मुक्त रहनुपर्ने बताए।

राष्ट्र बैंक ऐनले गभर्नरको पदलाई स्थायित्व दिएको उल्लेख गर्दै उनले राजनीतिक उद्देश्यका आधारमा गभर्नरलाई सरुवा वा पदबाट हटाउने काम गर्नु नहुने बताए। राष्ट्र बैंकमा राजनीति प्रवेश गरे त्यसको गम्भीर असर अर्थतन्त्रमा पर्ने उनले बताए।

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंक ऐनलाई समयानुकूल बनाउन संशोधन प्रस्ताव ल्याइएको जानकारी दिए। राष्ट्र बैंकको संरचना, सञ्चालक समिति तथा गभर्नर र सञ्चालकहरूको नियुक्ति, कार्य र जिम्मेवारीलाई थप व्यवस्थित बनाउने उद्देश्य विधेयकको रहेको उनले बताए।

असल नियतका साथ गरिएका कार्यलाई अनावश्यक कारबाहीको दायरामा नल्याउने व्यवस्था पनि प्रस्तावित विधेयकमा समेटिएको उनले बताए।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्