विशेष अदालतबाट एमाले वरिष्ठ उपाध्यक्ष पौडेल साधारण तारेखमा रिहा
काठमाडौँ, १ साउन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल विशेष अदालतबाट साधारण तारेखमा छुटेका छन्।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइपछि पौडेललाई साउन २८ गतेको तारेखमा उपस्थित हुने गरी साधारण तारेखमा छाड्न आदेश दिएको हो।
अदालतले हालसम्म प्राप्त प्रमाणबाट पौडेलको प्रत्यक्ष संलग्नता वा सम्बन्ध पुष्टि नभएको उल्लेख गर्दै साधारण तारेखमा राख्ने निर्णय गरेको हो। आदेशमा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबारबाट पौडेलले कुनै सम्पत्ति वा लाभ प्राप्त गरेको भन्ने आधारसमेत नदेखिएको उल्लेख गरिएको छ।
अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७ (ग) बमोजिम पछि थप प्रमाण परीक्षण गर्दै जाने गरी साधारण तारेखमा राख्न आदेश दिएको हो।
उक्त व्यवस्थाअनुसार मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म आवश्यक परेका बेला अदालतमा उपस्थित हुने शर्तमा प्रतिवादीलाई तारेखमा छाड्न सकिने कानुनी प्रावधान रहेको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







